Thaha

Thursday 02 May - 6:26 am NST

ईबोला  संक्रमण पछि निको भएका बिरामीमा दीर्घकालिन स्वास्थ्य समस्या


काठमाडौं,१३ फागुन । ईबोला भाईरसबाट संक्रमित भई उपचार पछि निको भएका बिरामीमा दीर्घकालिन स्वास्थ्य समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । अमेरिकाको नेशनल ईन्स्टिच्यूट अफ हेल्थले लाईबेरियामा उपचारको ६ महिना पछि पनि ईबोला संक्रमितमा शारीरिक कमजोरी, स्मरण शक्ति गुम्ने, डिप्रेसन, आत्महत्याको मानसिकता वा मतिभ्रम जस्तो लक्षण देखिएको जनाएको छ । पश्चिमी अफ्रिकामा मात्रै १७ हजार भन्दा बढी मानिस ईबोला भाईरसको संक्रमणमा परी बाँच्न सफल भएकाछन् । प्रारम्भिक अध्ययनमा उपचारपछि घर फर्किएको ६ महिना पछि ८२ जना बिरामीमा मेनेन्जाईटिस, दिग्भ्रमित हुने या कोमामा जाने जस्ता समस्या देखिएको ईन्स्टिच्यूटका चिकित्सकले बताएका छन् । चिकित्सकहरुका अनुसार स्मरणशक्ति गुम्दै गएपछि दैनिक जीवन असहज हुँदै गएको, बिरामीहरुमा विद्यालय वा जागिरमा फर्किन नसक्ने सोंच बढेको र केही बिरामीमा सुतिरहन खोज्ने समस्या देखिएको छ । ईबोला संक्रमण उपचारको लामो समय पछि पनि शारीरिक असर देखिने तथा पारिवारीक र सामाजिक रुपमा बहिष्कृत हुनु परेकाले बिरामी थप समस्यामा परेको भन्दै चिकित्सकले बिरामीको दीर्घकालिन शारीरिक तथा मानसिक उपचारमा जोड दिएका छन् ।